काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।
कांग्रेसले प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। बैठकमा निर्वाचनको समिक्षा, भावी रणनीति तथा आगामी कार्ययोजना बारे छलफल हुने कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार आजको बैठकमा निर्वाचनको प्रारम्भिक समिक्षा, सभापति गगन थापाको राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेस हुने छ।
उनले बिहीबार साँझ सामाजिक संजाल एक्समार्फत केन्द्रीय समिति बैठकको एजेन्डाबारे जानकारी दिएका थिए।
`बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ।´ उपसभापति शर्माले लेखेका छन्।
थापाले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले पराजय भोगेपछि बिहीबार बिहान पदबाट राजीनामा दिएका थिए। उनको राजीनामाको विषयमा सकारात्मक तथा नकारात्मक दुबै कोणबाट चर्चा भइरहेको छ।
कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ १८ र समानुपातिकमा २० गरी कुल ३८ सिटमा जित हात पारेको थियो।



