काठमाडौँ। नेपाली कांग्रेसको भोलि शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा मुख्य तीन प्रस्ताव पेश हुने भएको छ।
कांग्रेसले प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनको प्रारम्भिक समिक्षा, सभापति गगन थापाको राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेस हुने बताए।
उनले बिहीबार साँझ सामाजिक संजाल एक्समार्फत केन्द्रीय समिति बैठकको एजेन्डाबारे जानकारी दिएका हुन्।
`बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ।´ उपसभापति शर्माले लेखेका छन्।
थापाले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले पराजय भोगेपछि आज बिहान पदबाट राजीनामा दिएका थिए। उनको राजीनामाको विषयमा सकारात्मक तथा नकारात्मक दुबै कोणबाट चर्चा भइरहेको छ।
कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ १८ र समानुपातिकमा २० गरी कुल ३८ सिटमा जित हात पारेको थियो।



