काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। प्रि-मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ।
मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रि मनसुनका समयमा कुनैबेला मौसम खुल्ने तथा कुनैबेला फेरि प्रणाली विकास भएर बदली हुनेक्रम जारी रहने बताए। उनका अनुसार बिहीबारबाट मौसममा बदली देखिन सक्ने सम्भावना छ।
शुक्रबार र शनिबार बदली थप बढी देखिने र ठाउँठाउँमा वर्षा हुने तर देशैभरि एकैसाथ पानी पर्नेभन्दा पनि कतै पर्ने कतै रोकिने अवस्था रहने वरिष्ठ मौसमविद् पौडेल बताउँछन्।
उनले प्रि मनसुनका समयमा हावाहुरी, चट्याङ र असिनापानीको बढी जोखिम हुने पनि बताए। कतै घाम लागिरहेको समयमा अर्को ठाउँमा हावाहुरी र असिनापानीले ठूलो असर गराउने भएकाले सचेत रहन उनको आग्रह छ।
विभागले सार्वजनिक गरेको बुलेटिन अनुसार आज देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्ने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
बिहीबार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत गण्डकी, वाग्मती र कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने जनाइएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थान तथा वाग्मती र कोशी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।



