काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक आज बस्दैछ।
आज पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भएको हो।
बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघिको निर्वाचनको पहिलो दल कांग्रेसले अहिलेको निर्वाचनमा आधाभन्दा कम सिट जितेको छ। प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ।
कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन पछि चुनावी समीक्षासमेत गरेको छैन।
कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले आज समानुपातिकको नाम टुंगो लगाइने बताए। उनले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुन सक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुंगो लगाइने रहेको बताए।
कांग्रेसका सामु अब हुने पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारेमासमेत बैठक गरी टुंगोमा पुग्नुपर्नेछ। प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय समिति बैठकको तयारी भइरहेको भन्दै यो सातासम्म बस्ने जानकारी दिए।



