गोरखा। मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार माइक्रो बस दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको मृत्यु भएको छ।
शनिबार बेलुका सहिद लखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको माइक्रो बस सडकबाट करिब २०० मिटर तल खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार उनीहरू सबै भारतीय नागरिक हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट अन्दाजी २०० मिटल तल खसेको थियो। सो माइक्रो बसमा १४ जना तीर्थयात्री रहेको प्रहरीले जनाएको छ।
उनीहरू सवार माइक्रो बस मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सडकबाट तल झरेको थियो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य ७ जनालाई तनहुँको आँबुखैरेनी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घटनापछि स्थानीय सहित प्रहरी टोलीले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाबारे विस्तृत विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन।



