काठमाडौँ। नेकपा (एमाले) ले प्रतिनिधि सभामा समानुपातिकतर्फ पठाउन १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको एमालेको सचिवालय बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउँदै निर्वाचन आयोगमा नाम सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिए। उनका अनुसार आदिवासी जनजातितर्फ भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यको नाम सिफारिस गर्ने निर्णय भएको छ।
यसैगरी खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदाकुमारी बराल (पिछडिएको क्षेत्र र अपाङ्गता समेत)को नाम सिफारिस भएको छ।
थारुतर्फ कृपाराम राणा तथा दलिततर्फ विष्णुमाया विक र नीता घतानीको नाम सिफारिस भएको छ भने मधेसीतर्फ रिङ्गला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल एवं मुस्लिमतर्फ साजिदा सिद्धिकीको नाम सिफारिस गर्ने निर्णय भएको उपमहासचिव भट्टले जानकारी दिए।
बैठकले पार्टी अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।



