काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा एउटा क्षेत्रको परिणाम यस्तो रोचक बनेको छ कि सबैभन्दा बढी मत ल्याउनेको जित नभएर दोस्रो बढी मत ल्याउने उम्मेदवार विजयी घोषित भएका छन्। यो प्रसंग धनुषा निर्वाचन क्षेत्र नम्बर १ को हो। जहाँ सबैभन्दा बढी मत पाउने उम्मेदवार निर्वाचित भएनन्।
सोमबार निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार मातृका यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गर्यो। जहाँ यादवले दोस्रो बढी मत पाएका थिए।
किन यस्तो भयो त? यस्तो हुनुको कारण पहिलो बढी मत प्राप्त गर्ने रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले पहिले नै खारेज गरिसकेको थियो। खारेज भएको उम्मेदवारको चिन्ह भने मतपत्रमा थियो। त्यो चिन्हमा प्रत्यक्ष तर्फ साह उम्मेदवार थिए। उनको उम्मेदवारी खारेज भए पनि मतपत्रमा भने सबैभन्दा बढी मत आयो। तर आयोगले त्यसलाई मान्यता दिएन र यादवलाई निर्वाचित भएको प्रमाणपत्र दियो।
रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज भएपछि र निर्वाचनमा रास्वपाका उम्मेदवार साहलाई अत्यधिक मत आएपछि यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो। तर सर्वोच्चले यो मुद्दामा सुनुवाइ गर्दै तत्काल धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न आदेश दिएको थियो।
सो क्षेत्रमा नेकपाबाट उम्मेदवार बनेका यादवले ७ हजार ४ सय २८ मत ल्याएका थिए भने नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ६ हजार ६०५ मत ल्याएका थिए।
तर रास्वपाका उम्मेदवार साहले २० हजार ९१६ मत ल्याए पनि निर्वाचनअघि नै उम्मेदवारी खारेज भएपछि आयोगले त्यसको गणना नगरेको हो। र यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिएको हो। यो मुद्दामा सर्वोच्च अदालतल्र भने कुनै थप निर्णय गरिसकेको छैन।



