काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा पार्टीले कमजोर अवस्था भोगेपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन्।
सभापति थापाले आज साँझ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मालाई भेटेर राजीनामा दिने तयारी बारे जानकारी गराएका हुन्।
तर उपसभापति शर्माले भने तत्काल सभापति थापालाई राजीनामा नगर्न सुझाएको उनका सहयोगी दिनेश थापा मगरले जानकारी दिए।
उनले गगन-विश्व भेटबारे जानकारी दिंदै भने, `भेटमा सभापतिले पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ म राजीनामा दिन्छु भन्नू भयो, उपसभापति ज्युले रास्वपाको जित भन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ती हो, न त बिशेष महाधिवेशनबाट आएको कार्यसमिति हो l नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो। त्यसैले पराजयको समग्र र सुक्ष्म समिक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अफ्ट्यारो अवस्थामा पुग्न दिनुहुन्न भन्ने सुझाव भयो।´
अहिले दुई नेता बिचको भेटवार्ता जारी छ।
कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ १८ सिट मात्र जितेको छ।



