काठमाडौं। देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको चुनावी परिणामले नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई पनि पराजयको भागिदार बनाएको छ।
प्रतिनिधिसभा निर्वाचनको परिणाम रास्वपाको पक्षमा आउँदै गर्दा नेपाली कांग्रेसका बहालवाला दुई महामन्त्री नै रास्वपा उम्मेदवारसँग भारी मतान्तरले पराजित भए।
जसअनुसार काठमाडौं–५ मा महामन्त्री प्रदीप पौडेलले पराजय ब्यहोर्दा मोरङ–४ मा अर्का महामन्त्री गुरुराज घिमिरेले पनि त्यही परिणाम सामना गर्नु पर्यो। महामन्त्रीद्वयको जस्तै अवस्था यसपटक धेरै कांग्रेस उम्मेदवारले भोग्नु पर्यो।
कांग्रेस महामन्त्री पौडेललाई काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले पराजित गरेका हुन्। पोखरेल ३० हजार ७३७ मतसहित विजयी हुँदा कांग्रेसका महामन्त्री प्रदीप पौडेल ९ हजार १५९ मतमा सीमित भए।
त्यसैगरी मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी हुँदा कांग्रेसका अर्का महामन्त्री गुरुराज घिमिरे १२ हजार ८१८ मत मात्र प्राप्त गर्दै २८ हजारभन्दा बढी मतान्तरले पराजित हुन पुगे।
देशभरबाट आएको यो परिणामले कांग्रेस नेतृत्वलाई पुन: एकपटक धक्का दिएको छ।



