काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्याल काठमाडौं तार्केश्वर नगरपालिका अन्तर्गत काठमाडौं क्षेत्र नं. ६ को मतदान स्थलको अनुगमन गर्न पुगेका छन्।
उच्च अधिकारीसहित गृहमन्त्री अर्याल मतदान स्थलको अनुगमनका लागि बुधबार तार्केश्वर नगरपालिका पुगेका हुन्।
अनुगमनका क्रममा उनले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन्।
अनुगमनमा गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल लगायत सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए।
सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे। उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्क रहन निर्देशन समेत दिए।
मन्त्री अर्यालले स्थानीय मतदातासँग कुराकानी गर्दै समग्र अवस्थाबारे जानकारी लिएका थिए। उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्न पनि आग्रह गरे।
गृहमन्त्रालयमा प्रत्येक दिन केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचालनका साथैसमन्वयको कामलाई प्रभावकारी बनाइएको छ।
निर्वाचन सुरक्षा रणनीति अन्तर्गत निर्वाचन अघि, निर्वाचनको अवधिमा र निर्वाचन पश्चात मतपत्रको ढुवानी, परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ।



