काठमाडौ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय तहमा गर्नुपर्ने सबै सम्पन्न काम सम्पन्न भएको छ। सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगले जनाएको छ।
आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको उनले जानकारी दिए।
पछिल्लो विवरणअनुसार आयोगका कर्मचारी तथा सुरक्षाकर्मी देशभरका २३ हजार ११२ वटै मतदान केन्द्रमा पुगिसकेका छन्।
मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक कार्य गरिरहेका छन्।
स्थानीय स्तरमा राजनीतिक दल र उम्मेदवारसँग सर्वदलीय बैठक बसी मतदानका विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको प्रवक्ता भट्टराईले बताए।
“केन्द्रीय तहको तयारी सकेर आयोग अहिले २३ हजार ११२ मतदान केन्द्रसम्म पुगेको छ। मतदान अधिकृतले केन्द्रको सूचना प्रकाशन र प्रशासनिक तयारी गरिरहनुभएको छ। सम्भवतः आज सबै मतदान केन्द्रमा राजनीतिक दल र उम्मेदवारसँगको छलफलबाट साझा समझदारी तयार भइसकेको छ।” उन्ले भने।
भोलिसम्म मतदान केन्द्रको बुथ निर्माण गरिसकेपछि पर्सि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने उनले जानकारी दिए।
मतदानका क्रममा जिल्ला, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने कुनै पनि समस्यालाई तत्काल सम्बोधन गर्न आयोगले आवश्यक सहजीकरण गरिरहेको छ। सम्पूर्ण जनशक्ति र सामग्री मतदान केन्द्रमा पुगिसकेकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको प्रवक्ता भट्टराईले बताए।



