काठमाडौँ। काठमाडौँमा टिप्परको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु भएको छ।
मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरमा टिप्परको ठक्करबाट क्षयरोग केन्द्रमा कार्यरत कर्मचारी बद्री कोइरालाको मृत्यु भएको हो। उनी प्रदेश–३–००१ ब.९४५ नम्बरको स्कुटरमा सवार थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बा.२ क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा सवार कोइरालाको मृत्यु भएको जानकारी दिए।
भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय कोइराला सुनसरीको इनरुवा नगरपालिका–५ का स्थानीय हुन्। उनी भक्तपुरस्थित क्षयरोग केन्द्रमा नासु पदमा कार्यरत थिए।
घटनापछि टिपर चालक गोरखाको भुम्लिचोक घर भएका २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।



