मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दुर्घटनाले अकालमै मृत्यु, ब्रेन डेथपछि अंगदान किन नगर्ने ?

दुर्घटनाले अकालमै मृत्यु, ब्रेन डेथपछि अंगदान किन नगर्ने ?

images
२०८२ फाल्गुण १२ गते, मंगलवार
२०८२ फाल्गुण १२ गते, मंगलवार
  • काठमाडौं। नेपालमा दैनिकजसो हुने सवारी दुर्घटनाका कारण नागरिकले अकालमै ज्यान गुमाइरहेको दु:खद यथार्थ छ। अचानक ज्यान गुमाउनेहरुमार्फत् दोस्रो व्यक्तिको जीवन बचाउन सकिने अवस्था हुँदाहुँदै पनि त्यो यसमा पर्याप्त अभ्यास हुन नसकेको अर्को सत्य छ। प्रसंग: मस्तिष्क मृत्यु अर्थात् ब्रेन डेथ पछि अंगदानको हो। जसमार्फत् एकजनाको अंगदान गरी आठ जनालाई जीवन दिन सकिन्छ।

    images

    नेपाल प्रहरीका अनुसार पछिल्लो आठ वर्षमा सवारी दुर्घटनामा परी एकलाख ६८ हजार ६२३ सवारी दूर्घटना भए। ति दूर्घटनामा परी १९ हजार २६२ जनाले ज्यान गुमाएका छन्। चालु आर्थिक वर्षको माघसम्म मात्रै एक हजार ५४५ जनाको सवारी दूर्घटनामा मृत्यु भएको छ।

    images

    समयमा उद्दार र उपचार नहुँदा घाइतेले अकालमै ज्यान गुमाइरहेका त छन् नै, राज्यको ध्यान नपुग्दा उनीहरुबाट अंग प्रत्यारोपण गरी लामो समय बाँच्नसक्ने बिरामीलाई समेत बचाउन सकिइरहेको छैन।

    जबकी नेपालमा प्रत्येक एक लाखमध्ये आठ हजार व्यक्तिमा मिर्गौलासम्बन्धी गम्भीर समस्या रहेको र तिमध्ये २९ प्रतिशतको मृत्यु हुने गरेको नेशनल लाईब्रेरी अफ मेडिसिनको तथ्यांक छ।

     के हो मस्तिष्क मृत्यु अर्थात् ब्रेन डेथ?

    मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन, २०५५ मा मस्तिष्क मृत्युपछि अंगदानको व्यवस्था गरिएको छ।

    यो ऐनले मस्तिष्क मृत्युको अवस्था र यसलाई प्रमाणित गर्ने विज्ञ टोलीबारे प्रस्ट व्याख्या गरेको छ। विशेषज्ञहरुले ब्रेन डेथलाई टाउकोमा हुने कुनै पनि गम्भीर चोटका कारण मस्तिष्क मृत्यु भएको अवस्थाको रुपमा परिभाषित गर्ने गरेका छन्। जुन अवस्था कुनै दुर्घटना वा मस्तिष्कघातका कारण पनि हुनसक्छ।

    यो अवस्थामा व्यक्तिले श्वास लिन सक्दैन। यस्तो अवस्थालाई चिकित्सा विज्ञानले मृतकै रूपमा परिभाषित गरेको छ। यद्यपि, उनीहरूमा रक्तचाप, धड्कनजस्ता लक्षणहरू भने महसुस गर्न सकिन्छ।

    ब्रेन डेथ भएका व्यक्तिलाई भेन्टिलेटरको सहायतामा केही दिनसम्म राख्न सकिने भए पनि उनीहरू फेरि जीवनमा फर्किन भने नसक्ने न्युरोसर्जनहरु बताउँछन्। यस्तो अवस्थामा बिरामीका अन्य अंग भने काम गर्न सक्ने अवस्थामा हुन्छन्।

    नेपालमा ब्रेन डेथ हुने अधिकांश कारणहरूमा सवारी दुर्घटनाबाट टाउकोमा हुने गम्भीर चोट नै देखिएको छ।

    वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार, ब्रेन डेथ भएका व्यक्तिबाट मिर्गौला, फोक्सो, मुटु, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ।

    नेपालमा अहिले मिर्गौला र कलेजोको प्रत्यारोपणको अभ्यास बढी प्रभावकारी भएको छ। यस हिसाबले हेर्ने हो भने पनि नेपालमा अहिले एकजना ब्रेन डेथ भएको व्यक्तिको अंगबाट तीन जनाले पुनर्जीवन पाउन सक्ने अवस्था छ।

    हाल मिर्गौला र कलेजो दान गर्ने व्यक्तिका परिवारलाई सरकारले दुईलाख रुपैयाँ औषधि खर्च समेत उपलब्ध गराउँदै आएको छ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहित वीर र त्रिवि शिक्षण अस्पतालले यो सेवा दिँदै आएका छन्।

    कहाँ कसरी गर्ने ब्रेन डेथपछि अंगदान?

    मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध नियमावली, २०७३ मा मस्तिष्क मृत्युको घोषणापछि विशेषज्ञ चिकित्सक, प्रहरी अधिकृतलगायतको जाँचबुझ समितिले मृतकको पोस्टमार्टमपूर्व अंग झिक्न स्वीकृति दिन सक्ने व्यवस्था छ।

    व्यक्तिले जीवन रहँदै स्वेच्छाले गरेको अंगदान दिएको भए मस्तिष्क मृत्युपछि उसको अंग प्रत्यारोपण गर्न मिल्छ। तर मृतकले अगाडि नै अंगदान गरेको नभए पनि परिवारका सदस्यले अंगदानको मञ्जुरी दिनसक्छन्। यसरी दिइने मन्जुरी लिखित र विवरणसहितको हुन्छ।

    मस्तिष्क मृत्यु भएको कति समयसम्म अंग प्रत्यारोपण गर्न मिल्छ?

    १८ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिले मिर्गौला प्रत्यारोपण गर्न सक्छन्। त्यसका लागि दुइवटै मिर्गौलामा कुनै पनि प्रकारको रोग हुनु हुँदैन। डा.श्रेष्ठका अनुसार, ब्रेन डेथ भएका व्यक्तिबाट निकालिएका अंगहरूमा मिर्गौला २४ घण्टाभित्र, कलेजो र प्याङ्क्रियाज १२ घण्टाभित्र, मुटु र फोक्सो चार घण्टासम्म आइसप्याकमा राखेर प्रत्यारोपण गर्न सकिन्छ।

    त्यस समयभित्र दाता सम्पर्कमा आए सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तत्काल विशेषज्ञ टोली घटनास्थलमा पुगी अंग संकलन गर्ने गरेको छ।

    उच्च रक्तचाप र मधुमेहका बिरामीले मिर्गौल दान गर्न मिल्दैन। `ओ´ रक्त समूह भएका व्यक्तिले भने सबैलाई समूहकालाई दिन मिल्छ । ए, बी र एबी रक्त समूह भएका व्यक्तिले सोही समूह भित्रकालाई मात्रै मिर्गौला दान गर्न सक्छन्। यसबाहेक रक्तसमूह नमिलेमा पनि म्याचिङ प्रक्रिया गरी मिर्गौला दिन भने मिल्ने विशेषज्ञहरु बताउँछन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend