बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कास्की २ मा जलवायु विज्ञ कुशल गुरुङको ‘उज्यालो नेपाल’ बनाउने योजनामा के छ?

कास्की २ मा जलवायु विज्ञ कुशल गुरुङको ‘उज्यालो नेपाल’ बनाउने योजनामा के छ?

images
२०८२ फाल्गुण १० गते, आइतवार
२०८२ फाल्गुण १० गते, आइतवार
  • पोखरा। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ। पूराना र नयाँ राजनीतिक दलका उम्मेद्वारहरु आफ्ना एजेन्डासहित घरदैलो गरिरहेका छन्।
    नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) साथै राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेद्वार बढी आक्रमक भएर चुनावी घरदैलो संचालन गरिरहेका छन्। जसका कारण कास्की चुनावमय बनेको छ।

    images

    नयाँ मानिएको उज्यालो नेपाल पार्टीका उम्मेद्वार कुशल गुरुङको चुनावी अभियानलाई स्थानीयले विशेष चासोका रुपमा हेरिरहेका छन्। जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जाका अन्तर्राष्ट्रिय रूपमा सम्मानित विज्ञ भएकाले उनी र अन्य दलका उम्मेद्वारलाई हेर्ने दृष्टिकोण फरक मानिएको छ।

    images

    चुनावी घोषणा पत्र र २१ बुँदे प्रतिवद्दतापत्रसहित मैदानमा रहेका उनले पर्यटकीय नगरी पोखरासहित कास्कीको विकासका लागि भिजनरी उम्मेद्वारका रुपमा हेरिएको छ।

    घोषणा पत्रमा उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानमार्फत वार्षिक ३० लाख पर्यटक भित्र्याउने, फेवाताल संरक्षण रामसार मापदण्ड अनुसार अतिक्रमण नियन्त्रण, ढल व्यवस्थापन र जैविक विविधताको संरक्षण सुनिश्चित गर्नेलगायत दर्जनबढी महत्वकांक्षी योजना अघि सारेका छन्।

    ऊर्जा क्षेत्रमा गुरुङले आर्जन गरेको ज्ञान, अनुभव र दूरदृष्टिलाई संघदेखि स्थानीय तहसम्म नीति निर्माणमा व्यवहारिक रूपमा प्रयोग गर्दै आएका छन्। अब सरकारलाई बाहिरबाट सुझाव दिने भूमिकामात्र नभई, स्वयं नीति निर्माणको केन्द्रमा पुगेर काम गर्नुपर्ने समय आएको विश्वासका साथ कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको उनी बताउछन्।

    देश रुपान्तरण, नवयुवाको आकांक्षा र दिगो भविष्यको चाहनालाई साकार पार्दै ‘उज्यालो नेपाल’ निर्माणको खाकालाई व्यवहारमा उतार्ने प्रतिबद्धताका साथ आफु चुनावी मैदानमा उभिएको धारणा राखे। पोखरालाई प्रकृतिले नै पर्यटनको राजधानी बनाएको उनी बताउँछन्।

    तर आज जलवायु परिवर्तनको गम्भीर संकट पोखरामाथि आइपरेको गुरुङ बताउछन्। उनका अनुसार तालहरु सुक्दै गएका छन्, हिमालका हिउँ पग्लँदै कालापथ्थरमा परिणत हुँदैछन्।

    उनी भन्छन् ‘यसको दोष पोखरेली जनताको होइन, विश्वका औद्योगिक राष्ट्रहरूले गरिरहेको अत्यधिक कार्बन उत्सर्जनको परिणाम हो। यद्यपि हामी आफ्नै ठाउँबाट संरक्षणका कदम चाल्न सक्छौँ र चाल्नुपर्छ।साथै, जलवायु परिवर्तनबाट भएको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसंघको हरित जलवायु कोषमार्फत अन्तर्राष्ट्रिय क्षतिपूर्ति लिनुपर्ने आवश्यकर्तालाई हामी दृढतापूर्वक उठाउनेछौँ।’

    विश्वमा रहेका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्ण, धौलागिरी र मनास्लु–तीनवटै हिमाल पोखराबाट देखिन्छन्। विश्व रामसार सूचीमा सूचीकृत यहाँका आठवटा तालहरूले पोखराको सौन्दर्य बढाएका छन्, पोखराबासीको पानीको सुनिश्चितता, जमिनको उर्वरता र सहरको शीतलता कायम राखेका कारण कास्की मुलुककै लागि ठूलो सम्पत्तीका रुपमा हेर्नुपर्नेमा उनी प्रष्ट छन्।

    फोहोरमैला व्यवस्थापन, तालतलैया र सिमसार संरक्षण, प्रकृति र संस्कृतिको जगेर्ना गर्दै पर्यटन जोगाउनुपर्ने साथै रोजगारी, उद्यमशीलता, उच्च मूल्यको कृषि उत्पादनमार्फत आर्थिक रूपान्तरण, सामाजिक न्याय र सुशासनको अनुभूति दिलाउने दायित्व आफूहरुसँग रहेको उनको भनाइ छ।

    भाषण र खोक्रा नारामा होइन, काम र परिणामबाट आफू आम जनताको साँचो प्रतिनिधि भएको प्रमाणित हुनेमा उनी विश्वस्त छन्।

    गुरुङ जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जाका अन्तर्राष्ट्रिय रूपमा सम्मानित विज्ञ हुन्। उनी संयुक्त राज्य अमेरिकाको एस्पेन आइडियाज फेस्टिभल फेलो –२०२४, एसिया सोसाइटी अमेरिकाको ‘एसिया २१ युवा नेतृत्व कार्यक्रम २०१७’ तथा बेलायतको एडिनबर्ग विश्वविद्यालय व्यवस्थापन विद्यालयको १०० वर्षे इतिहासमा उत्कृष्ट १०० भूतपूर्व विद्यार्थी मध्ये एक हुन्।

    निकै प्रतिस्पर्धात्मक रुपमा चासोका साथ हेरिएको कास्की २ मा एमालेबाट रश्मि आचार्य, कांग्रेसका मधु बास्तोला, नेकपाका हेमबहादुर थापा (आमोद), राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङलगायतका उम्मेदवार मैदानमा छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend