सर्लाही। बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका सिंहलाई गएराती कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन्।
पूर्व मेयर अभयलाई कांग्रेसमा स्वागत गर्नका लागि गएराती केन्द्रीय सभापति गगनसँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह लगायतका नेताहरु समेतको उपस्थिती रहेको थियो।
सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा भने सिंह राजपाको फुटपछि लोसपाबाट मेयरका प्रत्यासी थिए। तर उनलाई नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका रामाशंकर कुशवाहाले पराजित गरे।
गएराती सिंहकै घरमा कांग्रेस सभापति थापासहितका नेताहरु पुगेर पार्टी प्रवेश गराएका हुन्। सिंहसहित बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशिल झा लगायतका नेता कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ।
यसअघि सर्लाही ४ नम्बर निर्वाचन क्षेत्र निवासी लोसपाका नेताहरु संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्र लगायत दर्जनौ नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।



