काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १०० आधार सहितको ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ।
रास्वपाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक कार्यक्रममार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्नेदेखि सांसद भएकालाई मन्त्री नबनाउनेसम्मका वाचा गर्दै चुनावी `वाचा पत्र´ सार्वजनिक गरेको हो।
रस्वपाले सार्वजनिक गरेको वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कूटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरिएको छ।
रास्वपाले ‘नीतिगत प्रस्थानका १०० आधार’ भन्दै रुपान्तरणको आधारलाई वाचा पत्रमा उल्लेख गरेको छ।
रास्वपाले सार्वजनिक गरेको वाचा पत्रमार्फत प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसदीय व्यवस्था, सांसद मन्त्री हुन नपाउने र गैरदलीय स्थानीय सरकारजस्ता एजेन्डासहित संविधान संशोधनका लागि राष्ट्रिय बहस थाल्ने वाचा गरेको छ।
सार्वजनिक पदका सबैको सम्पत्ति छानबिन गर्ने
रास्वपाले सार्वजनिक गरेको वाचा पत्रमा सार्वजनिक पदमा धारण गरेका सबैको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्ने र त्यसका लागि कार्यविधि बनाउने घोषणा गरेको छ।
यसैगरी सरकारी सेवामा दलगत आबद्धता अन्त्य गर्ने, भ्रातृ सङ्गठन नबनाउने र निजामती प्रशासनलाई ‘थोरैले धेरै सेवा दिने’ तटस्थ संरचनामा रूपान्तरण गर्ने योजना समावेश गरिएको छ।
सबै सरकारी सेवा अनलाइनबाटै
पार्टीले सरकारी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजानुका साथै राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत डाटाबेस निर्माण गर्ने र ‘डिजिटल सर्भिस डेलिभरी’ समयबद्ध रूपमा लागु गर्ने योजना अघि सारेको छ।
फाइल प्रक्रियामा समयसीमा तोकी ढिलाइ भए स्वतः स्वीकृति वा जवाफदेही बनाउने प्रणाली लागु गर्ने वाचा समेत रास्वपाले गरेको छ।
?
पार्टीले आगामी पाँच वर्षमा औसत ७ प्रतिशत वार्षिक आर्थिक वृद्धि हासिल गरी प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने घोषणा गरेको छ।
यसैगरी कर प्रणालीलाई सरलीकरण गर्दै व्यक्तिगत र संस्थागत करको बोझ हटाउने वाचा पनि पार्टीले गरेको छ। निजी क्षेत्रसँग उन्नत समझदारी गर्ने तथा करिब दुई दर्जन असान्दर्भिक कानुन खारेज गर्ने रास्वपाको योजना छ।
१०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता
रास्वपाले वाचा पत्रमा सहकारी र लघुवित्त क्षेत्रलाई कडा नियमनमा ल्याउने पनि घोषणा गरेको छ। पत्रमा साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने र ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने प्रतिबद्धता गरिएको छ।
सातै प्रदेशमा डिजिटल पार्क
रास्वपाले सूचना प्रविधिको क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै हालको १ अर्ब ५० करोड डलर निर्यातलाई १० वर्षमा ३० अर्ब डलर पुर्याउने घोषणा गरेको छ।
यसैगरी सातै प्रदेशमा ‘डिजिटल पार्क’ निर्माण गरी सूचना प्रविधिको क्षेत्रमा ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। क्रिप्टोकरेन्सी नियमन, डाटा सेन्टर विकास, एआई कम्प्युटिङ निर्यात तथा रिमोट वर्कलाई कानुनी मान्यता दिने नीति लागु गर्ने पनि वाचा पत्रमा उल्लेख गरिएको छ।
‘ऊर्जा विकास दशक’ घोषणा गर्ने वाचा
रास्वपाले आगामी दशकमा ३० हजार मेगावाट जडित क्षमता हासिल गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास दशक’ घोषणा गर्ने वाचा पनि वाचा पत्रमा उल्लेख गरेको छ।
रास्वपाले ऊर्जा आयोजनाका लागि एकद्वार सेवा, निजी क्षेत्रको संलग्नता विस्तार र छिमेकी मुलुकसँग दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्ने, रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना, मेची–महाकाली विद्युतीय रेल, प्रमुख सहरसम्म शाखा मार्ग तथा चीन–भारत रेल सञ्जालसँग जोड्ने दीर्घकालीन योजना पत्रमा राखेको छ।
प्रवासी नेपालीलाई दोहोरो नागरिकता, विदेशबाटै मतदानको अधिकार
वाचा पत्रमार्फत रास्वपाले नेपाललाई 'बफर स्टेट' बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रूपान्तरण गर्ने अवधारणासहित सन्तुलित कूटनीति अवलम्बन गर्ने नीति लिइएको छ।
प्रवासी नेपालीलाई दोहोरो नागरिकताको नीति, विदेशबाटै मतदानको अधिकार र 'राष्ट्रिय ज्ञान बैँक' स्थापना गर्ने वाचा पनि उसको वाचा पत्रमा छ। सत्तामा पुगेपछि बिग्रिने राजनीतिक संस्कृतिबाट टाढा रहने प्रतिबद्धता जनाउँदै पार्टीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र आन्तरिक अनुशासन संयन्त्र बलियो बनाउने उल्लेख गरेको छ।



