काठमाडौँ। आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि ७ विकेटको सानदार जित हात पारेको छ।
मुम्बईको वानखेडे स्टेडियममा भएको यो खेलमा प्राप्त विजयसँगै नेपालले विश्वकपको मञ्चमा १२ वर्षपछि पहिलो जितको रेकर्ड दर्ता गराएको हो। यसअघि नेपालले सन् २०१४ को विश्वकपमा अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो।
स्कटल्याण्डले दिएको १७१ रनको चुनौतीपूर्ण लक्ष्यलाई नेपालले ४ बल बाँकी रहँदै मात्र ३ विकेट गुमाएर पूरा गर्यो।

नेपालको जितमा फिनिसर दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै मात्र २३ बलमा अविजित ५० रनको योगदान दिए। उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए।
त्यस्तै, अलराउन्डर गुलशन झाले १७ बलमा १ चौका र २ छक्कासहित अविजित २४ रन बनाएर दीपेन्द्रलाई उत्कृष्ट साथ दिए। यी दुईबीच चौथो विकेटका लागि २७ बलमा ५० रनको अविजित साझेदारी भएको थियो।
यसअघि, नेपाललाई ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेखले सानदार सुरुवात दिलाएका थिए। भुर्तेलले ३५ बलमा ४३ रन र आसिफ शेखले २७ बलमा ३३ रन बनाएर पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे।
कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए पनि मध्यक्रममा दीपेन्द्र र गुलशनले इनिङ्स सम्हाल्दै नेपाललाई जित दिलाए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको योगफल तयार पारेको थियो।
स्कटल्याण्डका लागि माइकल जोन्सले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए। जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलनले २५ रनको योगदान दिए।
बलिङतर्फ नेपालका तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।
यससँगै सोमपाल नेपालका लागि पुरुष टी-२० विश्वकपमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन्। उनले विश्वकपमा आफ्नो विकेट संख्या १० पुर्याउँदै दीपेन्द्र सिंह ऐरीलाई उछिनेका हुन्।
त्यस्तै, डेब्युटेन्ट नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए भने कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट हात पारे।







