चितवन। नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफू जनतासँगै काम गर्ने कामदारकै रूपमा खडा हुने र पाँच वर्ष तलब–भत्ता नलिई काम गर्ने बताएका छन्।
चितवनमा अस्थायी बसोबास गरिरहेका आफ्ना मतदातासँग साक्षात्कार गर्नेक्रममा उनले राज्यको तलब भक्ता एक सुका पनि नलिई काम गर्ने प्रतिबद्धता गरेका हुन्।
“पहिले प्रदेश सांसद हुँदा पनि एक सुका नखाई सेवा गरेको थिएँ, अब आउने पाँच वर्ष पनि तलब–भत्ता नलिई काम गर्नेछु,” उनले भने। आफूले पाउने तलब–भत्ता जनताको सेवामा खर्च गर्ने उनको भनाइ थियो।
उनले गोरखा तथा चितवन क्षेत्रमा जाँदा ‘नेता फर्केर आउँदैनन्’ भन्ने गुनासो सुन्ने गरेको उल्लेख गर्दै आफू भने जनताबाट टाढा नभागेको बताए।
“म चुनाव नआउँदा पनि गाउँ–टोल पुगेको छु, चुनाव आएपछि अलि धेरै पुगेको मात्र हो,” उनले भने।
नेता भएपछि सबैलाई एउटै दृष्टिले हेर्ने प्रवृत्ति रहेको भन्दै आफू त्यसबाट फरक भएको दाबी गरे।
देशको परिवर्तनका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउँदै उनले जिते पनि हारे पनि सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
लामो समय विदेश बसेर फर्किएको अनुभव सुनाउँदै विदेशमा रहेका नेपालीको पीडा आफूले नजिकबाट बुझेको र त्यसको समाधानका लागि काम गर्ने बताए।
आफ्नो क्षेत्रको विकासका लागि स्पष्ट खाका तयार पारेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न संसदमा पुग्न आवश्यक रहेको उनको भनाइ थियो।
चुनावी घरदैलो र भेटघाटका क्रममा सबैसँग प्रत्यक्ष भेट हुन नसकेको स्वीकार गर्दै उनले चुनावपछि सबैलाई क्रमशः भेट्ने वाचा गरे।
यसअघि विसं २०७४ मा गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका दवाडीले त्यसबेला पाउने तलब तथा सेवा–सुविधा जनताको सेवामा खर्च गरेका थिए।



