काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा आइतबार बिहानैदेखि दर्शनार्थीकाे भीड छ। बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ।
विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने गरेकाे काेषकाे तथ्यांक छ।
काेषका अनुसार यसपटक दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको छ। मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगंगा, पिंगलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सकिनेछ।
पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको छ।
यसैगरी मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन–तीन र पश्चिमबाट चारवटा भित्री लाइन व्यवस्थापन गरिएको छ।
पार्किङका लागि भने सिफल चौर, गुह्वेश्वरी पारीकाे क्षेत्र , पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तीलगंगा आँखा अस्पताल अगाडि तथा वनकाली क्षेत्रमा व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।



