बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दैलेखमा अनुमानभन्दा ८० गुणा बढी ग्यास भण्डारण रहेको पुष्टि

दैलेखमा अनुमानभन्दा ८० गुणा बढी ग्यास भण्डारण रहेको पुष्टि

images
२०८२ फाल्गुण १ गते, शुक्रवार
२०८२ फाल्गुण १ गते, शुक्रवार
  • दैलेख। दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ।

    images

    चीनको ‘चाइना जियोलोजिकल सर्भे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदन अनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पुष्टि भएको हो।

    images

    खानी तथा भू–गर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययनपछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो।

    यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुन सक्ने अनुमान गरिएको थियो। थप परीक्षण र अन्तिम अध्ययनले पूर्वानुमानभन्दा धेरै परिमाणमा ग्यास रहेको प्रमाणित गरेको उनले जानकारी दिए।

    भण्डारण पुष्टि भए पनि यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमताको वास्तविक जानकारी भने ‘वेल टेस्टिङ’ पछि मात्र प्राप्त हुने विभागले जनाएको छ।

    “अहिले हामीले भण्डारणको आकार मात्र पत्ता लगाएका छौँ। वेल टेस्टिङ नगरी कति ग्यास बाहिर निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे परीक्षण नगरेसम्म अन्तिम टुङ्गो लाग्दैन।” प्रवक्ता खड्काले भने।

    उनका अनुसार अबको चरणमा ‘ड्रिल’ गरिएको स्थानमा अन्य उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यासलाई विस्थापित गर्ने प्रक्रिया अपनाइने छ।

    त्यसपछि निस्कने ग्यासमा भएका तत्व प्रयोगशालामा परीक्षण गरिने छ। अनि मात्र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।

    नेपाल सरकार र चीनको जियोलोजिकल सर्भेबिच दुई अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो।

    सोही अनुसार चिनियाँ टोलीले सेस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटोटेल्युरिक सर्भे र जियोकेमिकल सर्भे सम्पन्न गरिसकेको विभागका प्रवक्ता खड्काले जानकारी दिए।  

    उनका अनुसार हाल प्राप्त अन्तिम प्रतिवेदनमाथि विभागले थप अध्ययन गरिरहेको छ भने बाँकी कामका लागि अनुदान सहयोग गरिदिन नेपाल सरकारले चीन सरकारलाई आग्रह गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend