काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्र एचपीभी भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ। महानगरभित्र यो खोप सेवा फागुन ६ गतेसम्म चल्नेछ।
एचपीभीका विभिन्न प्रकारमध्ये एचपीभी १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्छ। यसबाट हुने जोखिम घटाउन सरकारले स्थानीय तहसँग समन्वय गरेर खोप सेवा प्रदान गरेको हो।
पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारमा मंगलबार खोप अभियान कार्यक्रम सुरु गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरुमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बचावट गर्न भाइरस विरुद्धको खोप प्रभावकारी रहेको बताइन्।
‘लक्षित समूहलाई खोप सेवा प्रदान गर्न महानगरपालिकाले खोप केन्द्र सञ्चालन सम्बन्धी सुक्ष्म योजना बनाएर काम गरिरहेको छ। आन्तरिक तथा वाह्य समन्वय तथा सहकार्य, जनशक्ति र स्रोत साधनको उचित परिचालन गरिएको छ।’ उनले भनिन्, ‘छात्राहरुलाई दिइने यो खोपलाई प्रभावकारी बनाउन विद्यालय परिवार र अभिभावकहरुलाई विशेष अनुरोध गर्दछु।’
कसले पाउँछन्?
यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइनेछ।
यस्तै गएको वर्षको खोप कार्यक्रममा छुटेका अहिले कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पनि यो खोप दिइने स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।
‘एचपीभी भाइरसका धेरै प्रकार छन्, तीमध्ये एचपीभी १६ र १८ ले महिलाहरुको पाठेघरको मुखको क्यान्सर गराउन सक्छ।’ डा. गौतमले भने, ‘यो खोप क्यान्सर विरुद्ध नभइ क्यान्सर गराउने भाइरस विरुद्ध हो। यो खोप लगाएपछि पाठेघरको मुखसहित छाला, घाँटी लगायतका क्यान्सरबाट बच्न सकिन्छ। यस वर्ष सरकारले करिब ४ लाख छात्राहरुलाई खोप दिने लक्ष्य राखेको छ।’
गएको वर्ष महानगरपालिकाले ३९ हजार ३१३ जना छात्रालाई यो खोप दिएको थियो। महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले यस वर्ष महानगरपालिकाभित्रका कक्षा ६ मा भर्ना भएर अध्ययन गरिरहेका ८ हजार ११० जना छात्राहरु रहेको बताए।
यस्तै विद्यालय नजाने तर खोप दिनु पर्ने करिब ५ सय छात्रा रहेको भन्दै उनले यस वर्षका लागि महानगरको लक्ष्य यही संख्या भएको उनी बताउँछन्।
महानगरपालिकाका शिक्षा अधिकृत इन्द्र दाहालका अनुसार शिक्षा विभागले खोप कार्यक्रम सञ्चालन गर्न सबै विद्यालयमा समन्वय गरिरहेको छ।
महानगरपालिकाले ३० जना छात्रालाई खोप दिनु पर्ने विद्यालयलाई एउटा खोप केन्द्र बनाएको छ। ३० जनाभन्दा कम विद्यार्थी भए भने संयुक्त खोप केन्द्र सञ्चालन हुनेछ। खोप केन्द्र, वडा क्लिनिक र स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरेर निर्धारण गरेका हुन्।
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपबाट बाहिर निकाल्न खोप, स्क्रिनिङ् र उपचार गरेर ३ चरणका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन हुनुपर्छ। यी हरेक चरणका कार्यक्रममा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य छ।
पाठेघरको मुखको क्यान्सरबाट बच्ने ३ चरणका उपायमध्ये, १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एचपीभी खोप लगाउनु पहिलो उपाय हो। दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ। तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ।
नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ। पत्ता लागेकामध्ये हरेक ६ जनामध्ये ३ जनाको मृत्यु हुने गरेको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाको तथ्याङ्कमा उल्लेख छ।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु भइरहेको छ। महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो। यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ। यो भाइरसलाई एचपिभी भाइरस भनिन्छ।
एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ।



