बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

देशभर तीन हजार ६८० मतदानस्थल अति संवेदनशील

देशभर तीन हजार ६८० मतदानस्थल अति संवेदनशील

images
२०८२ माघ २८ गते, बुधवार
२०८२ माघ २८ गते, बुधवार
  • काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि देशभर देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको जनाएको छ। जसमध्ये आयोगले तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मानेको छ।

    images

    सुरक्षा निकायले निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाएका छन्। जसअनुसार दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदशील र तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ।

    images

    निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचनको सुरक्षाका लागि नेपाली सेनासहितका चार वटै सुरक्षा निकाय परिचालित भइसकेका छन्।

    एकीकृत सुरक्षा योजना २०८२ अनुसार सरकारले नेपाली सेनाको संयोजनमा निर्वाचनका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटाएको हो। निर्वाचनमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन भन्दै सरकारले सुरक्षाकर्मी परिचालनका लागि `प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२´ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ।

    एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिनेछन्। नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन्।

    दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको छ। सशस्त्रले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ।

    नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ। निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा परिचालन भइसकेको छ।

    निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

    सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गरेको छ। सैनिक प्रवक्ता बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन गर्ने तयारी रहेको जानकारी दिए।

    निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा सुरक्षा प्रदान गर्ने योजना बनेको छ। निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ। 

    यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने छ।

    यस्तै मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नेछ।

    निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुँदैछन।

    निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्चसतर्कता अपनाइएको र जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

    त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन्। नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ।

    आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धाको मैदानमा छन्। निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ।

    यसपटकका निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेको आयोगले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend