चरीकोट। नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले देशलाई थितिमा राख्न र सुशासन कायम गर्न कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीलाई मतदान गर्न आग्रह गरेका छन्।
भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना कांग्रेसको मुख्य मुद्दा भएको उल्लेख गर्दै उनले यो म्यान्डेट पूरा गर्न रूख चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिए।
उनले अन्य राजनीतिक दलहरूलाई लक्षित गर्दै जनताको ठेक्का कसैले लिनु नपर्ने र आगामी फागुन २१ गते जनता कसको पक्षमा छन् भन्ने कुरा स्पष्ट भइहाल्ने जिकिर गरे।
उनले भने, "भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने कांग्रेसको मुद्दा हो। देशलाई थितिमा राख्ने कांग्रेसको मुद्दा हो। त्यो म्यान्डेट हामी पूरा गर्छौं त्यसैले रुख चिन्हमा मतदान गर्नुपर्छ। म सम्पूर्ण राजनीतिक दललाई भन्न चाहन्छु यो ठेक्का पट्टा जनताको लिने काम कसैले नगर्दा हुन्छ। जनता कसको पक्षमा छन् हामी २१ गते देखाइदिन्छौँ। त्यही भएर कांग्रेसका कार्यकर्ता उच्च मनोबलका साथ गौरीशङ्कर हिमाल जस्तै शिर ठाडो बनाएर हिँडौँ। यो परिवर्तनको नेतृत्व पनि कांग्रेसले गर्नेछ। हामी कुनै जनताको शिर निहुराउन दिनेछैन त्यही अनुरूप सबै लाग्नुहोला।"
उनले हरेक कार्यकर्तालाई आफ्नो जित सुनिश्चित भइसकेको महसुस गर्दै छाती चौडा पारेर अगाडि बढ्न आह्वान गरे। पार्टीभित्र पक्ष–विपक्ष हुनु स्वभाविक भए पनि कांग्रेसको नीति, सिद्धान्त, निष्ठा र दृष्टिकोण सधैँ अब्बल रहेको कुरा बारम्बार पुष्टि भइसकेको उनको तर्क छ।
उनले गैर–कांग्रेस मतदाताहरूलाई समेत यस पटक विकास र समृद्धिका लागि रूख चिन्हमा मतदान गर्न विशेष आग्रह गरे। दोलखाको विकास र भविष्यका लागि अजयबाबु शिवाकोटी जस्तो योग्य उम्मेदवारको आवश्यकता रहेको भन्दै उनले सबैलाई गोलबद्ध हुन आह्वान गरे।
उनले भने, "गैर कांग्रेसलाई म भन्न चाहन्छु पार्टी भित्र पक्ष विपक्ष हुन पाइन्छ। तर हाम्रो पार्टीले हाम्रो नीति सिद्धान्त निष्ठा दृष्टिकोणमा अब्बल छ। यो बारम्बार पुष्टि भइसकेको छ। छाती चौडा राखेर हरेक कांग्रेसका कार्यकर्ता जित सुनिश्चित भइसक्यो भन्ने दिशामा अगाडि बढ्न काम गर्न अनुरोध गर्न चाहन्छु। साह्रोगाह्रोमा कांग्रेस हिजो जस्तै चट्टान झैँ अडान लिएर गरिब जनताको पक्षमा उभिनेछ। युवाले कांग्रेसको नेतृत्व गर्दैछ भनेर तपाईँहरू गाउँ गाउँमा गएर सुनाउनुस्। गैह्र कांग्रेसले पनि यसपालि विकास चाहनुहुन्छ भने रूख चिन्हमा मतदान गर्न आग्रह गर्दछु।"
चुनाव जितिसकेको मानसिकताका साथ उच्च ऊर्जाका साथ काम गर्न उनले कार्यकर्तालाई अनुरोध गरे। कांग्रेस सधैँ जनताको सुख–दुःखको साथी भएको र आगामी दिनमा पनि त्यही भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे।



