काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई नेपाली कांग्रेसले राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई कांग्रेसले राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने घोषणा गरेका हुन्।
नेपालका स्वास्थ्य समस्या समाधानको प्रभावकारी माध्यम स्वास्थ्य बीमा भएको उनको भनाइ छ। उनले कांग्रेस नेतृत्वको सरकार बनेमा स्वास्थ्य बीमालाई थप सुदृढ बनाइने बताएका हुन्।
उनै थापाले आफू स्वास्थ्यमन्त्री हुँदा नेपालमा भुइँतहका जनताको उपचारमा सहजता ल्याउने उद्देश्यसहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेका थिए।
यो कार्यक्रम लोकप्रिय हुँदै अघि बढिरहेको अवस्थामा पछिल्लो समय सरकारले उपचार वापतको सोधभर्ना रकम अस्पतालहरुलाई उपलब्ध नगराएपछि समस्यामा परेको छ। यसको पछिल्लो उदाहरण महाराजगन्जस्थित शिक्षण अस्पताल बनेको छ। सो अस्पतालले बीमाबाट दिइने सेवा बन्द गरिसकेको छ।
यो समस्या विगत दुई वर्षदेखि देखिदै आइरहेको छ। सरकारले भुक्तानी समयमै गर्न नसक्दा गंगालाल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालसहितका अन्य केही ठूला अस्पतालहरूले पनि बीमा अन्तर्गत उपचार सेवा संचालनमा समस्या रहेको बताउँदै आइरहेका छन्।
स्वास्थ्य मन्त्री डा. सुधा गौतमलेसमेत १५ अर्ब रुपैयाँ तत्काल उपलब्ध नगराए कार्यक्रम नै बन्द हुने चेतावनी दिंदै आएकी छिन्। केहीदिन अघि प्रधानमन्त्री शुशिला कार्कीसँगको भेटमा मन्त्री गौतमले सो बारे जानकारी गराएकी थिइन्।
मन्त्री गौतमले चालु आर्थिक वर्षमा सरकारले बक्यौता भुक्तानी गर्न १० अर्ब रुपैयाँ विनियोजन गरे पनि अघिल्लो वर्षकै बक्यौता तिर्न अपुग भएको बताउने गरेकी छिन्। कार्यक्रम सञ्चालनका लागि वार्षिक २३/२४ अर्ब रुपैयाँ दायित्व सिर्जना हुने तर प्रिमियम संकलन करिब ४ अर्ब मात्र हुने अवस्था रहेको बताइन्छ।
तर अर्थ मन्त्रालयले भने थप बजेट दिन नसक्ने स्पष्ट पारिसकेको छ। विनियोजित १० अर्बबाहेक १ अर्ब निकासा भइसकेको र थप १५ अर्ब उपलब्ध गराउने सम्भावना नरहेको अर्थसचिव घनश्याम उपाध्यायले बताएका छन्। हाल अस्पतालहरूलाई तिर्न बाँकी दायित्व करिब १४ अर्ब रुपैयाँ पुगेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।
तर कांग्रेस सभापति थापाले भने आफैंले सुरु गरेको कार्यक्रमलाई कांग्रेसको सरकार बनेको अवस्थामा राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने प्रस्ताव अघि सारेका हुन्।
कानूनअनुसार राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भएपछि सरकारले बजेट प्राथमिकता दिनुका साथै आवश्यक परे अन्य आयोजनाबाट रकमान्तर गर्न सक्ने व्यवस्था हुन्छ।
‘हामीले सरकारको जिम्मेवारी पाए स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ, यो कांग्रेसको प्रतिबद्धता हो,’ थापाले भने। आफू स्वास्थ्य मन्त्री हुँदा बिरामीहरूको आर्थिक पीडा प्रत्यक्ष देखेपछि योजना विस्तार गरिएको उनले स्मरण गरे।
यद्यपि कार्यक्रम दिगो बनाउन नागरिकको योगदान बढाउनुपर्ने संकेत पनि उनले दिएका छन्। प्रिमियम वृद्धि वा उपचार सीमा पुनरावलोकन जस्ता विकल्पमा सरकार जान सक्ने उनको भनै छ। विश्व स्वास्थ्य संगठनको अवधारणा उल्लेख गर्दै उनले स्वास्थ्य खर्चमा नेपालको सन्दर्भमा ५७ प्रतिशत भार राज्यले व्यहोर्दै आएको जानकारी दिए।
थापाले स्वास्थ्य बीमाको दीर्घकालीन लक्ष्य भने बीमा गरेका नागरिकको निःशुल्क उपचारसम्म पुग्ने रहेको पनि बताए।
‘पहिले अस्तव्यस्तता हटाउँछौँ, त्यसपछि पहुँच विस्तार गर्छौँ, र अन्ततः बीमा गरेका नागरिकको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने अवस्थासम्म पुग्छौँ,’ कांग्रेस सभापति थापाले सन्देशमा भनेका छन्।



