काठमाडौँ। प्रहरीले काठमाडौँको बौद्धबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्ने कार्यमा संलग्न प्रेम थारुलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो।
नेपालगञ्ज घर भएका थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ।
गोली लागेका थारुको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ। प्रहरीले उनलाई १ राउण्ड गोली प्रहार गरेको थियो।
मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ।
यसअघि माघ १७ गते भोटेबहालमा भएको गहना चोरीको घटनामा पनि थारुकै संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ। सो घटनामा २५ तोला सुन चोरी भएको थियो। सो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो १२ बजे आसपास थारु टुसाल स्थित रिन्जीको घरमा प्रवेश गरेका थिए। सरासर चौथो तलामा पुगेर उनले ढोकाको लक खुस्काएर त्यहाँ राखिएको सि–माला जडित सुनको माला र चाँदीका गहना झोलामा प्याक गरेर निस्केर हिँडेका थिए।
सो घरको पाँचौँ तला र छतमा घरका मानिसहरू घाम तापिरहेको अवस्थामा करोडको बहुमूल्य सामान चोरी भएको थियो।
करिब २ बजेतिर ढोकाको लक खुस्काएको र सुन जडीत सि–माला नदेखेपछि घरधनीले प्रहरीलाई खबर गरेपछि चोरी भएको खुलेको थियो। त्यसपछि प्रहरीले अनुसन्धान शुरु गरेकोमा २४ घण्टापछि आरोपी पक्राउ परेका हुन्।



