काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उड्दा आगलागीको संकेत देखिएको टर्कीस एयरलाइन्सको जहाज भारतको कोलकातामा सुरक्षित अवतरण गरिएको छ।
उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज आज दिउँसो साँढे १ बजे २२५ जना यात्रु र ११ जना चालक दलका सदस्य गरी २३६ जना लिएर टर्कीको इस्तानबुलका लागि उडेको थियो।
सो विमान उडे लगत्तै दायाँ इञ्जिनमा आगलागी भएको संकेत देखिएको भन्दै चालक दलका सदस्यले काठमाडौँ एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई जानकारी गराएका थिए।
त्यसपछि विमानलाई डाइभर्ट गरेर भारतको कोलकातास्थित सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समयअनुसार दिउँसो ३ बजेर ३ मिनेटमा सुरक्षित अवतरण गराइएको थियो।
जहाजले काठमाडौँ विमानस्थलबाट उडान भरी उचाइ लिने क्रममा ‘फोर डिएमइ वेस्टमा राइट इञ्जिन अन फायर’ भनी काठमाडौँ ‘एप्रोच कन्ट्रोल’मा रिपोर्ट गरेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सो जहाजका सबै यात्रु तथा चालकदल सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ। अहिले प्राविधिक टोलीले इन्जिनमा देखिएको समस्या र आगलागीको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको छ।



