काठमाडौँ। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ पुराना दलको बहस भन्दा एजेन्डाको बहस हुनु पर्ने बताएकी छन्। उनले निर्वाचनमा एजेन्डामा नै प्रतिस्पर्धा हुनुपर्ने बताइन्।
मंगलबार काठमाडौँमा नेपाल कानुन समाजद्वारा आयोजित ‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनको वातावरण र निर्वाचनपछिको राजनीतिक परिदृश्य’ विषयक कार्यक्रममा उपसभापति भुसालले पुराना दलहरू लोकतन्त्र, नागरिक अधिकार र मुलुकको स्वाधीनताका लागि महत्त्वपूर्ण योगदान दिएको बताइन्।
त्यसकारण पनि निर्वाचनमा नयाँ पुरानो दलको बहसभन्दा एजेन्डाको बहस महत्त्वपूर्ण भएको उनको भनाइ छ।
“एजेन्डा पुरानो वा नयाँ भन्ने हुँदैन, अहिलेको निर्वाचनमा पनि पार्टीको उमेर वा नाममा होइन, एजेन्डामा बहस र प्रतिस्पर्धा गरौं, घोषणापत्र र कार्ययोजनामा आधारित प्रतिस्पर्धा गरौं”, उपसभापति भुसालले भनिन्।
उनले पार्टीको क्याडरले मात्र होइन आम मतदाताले एजेन्डा हेरेर भोट दिनु पर्ने बताउँदै कुन पार्टीले पाँच वर्षभित्र आफ्नो प्रतिबद्धता पूरा गर्नसक्छ भन्ने कुरा नै मतदाताले निर्णायक मान्नु पर्ने बताइन्।
कार्यक्रममा पूर्वमुख्यसचिव, पूर्व कानुन सचिव तथा पूर्व उच्च अधिकारीहरूले निर्वाचन सुरक्षामा देखिएका चुनौती, मिथ्या सूचना, दुष्प्रचार, व्यक्तिकेन्द्रित चुनावी प्रचार र कानुन उल्लङ्घनमा दण्डहीनतालगायत विषयमा धारणा राखेका थिए।



