काठमाडौं। निर्वाचन अयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइ सकाएको छ।
सानोठोमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको मतपत्रको छपाइको काम सम्पन्न भएको हो।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सकिएको छ।
यसैगरी दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको आयोगले जनाएको हो।
आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको छ। यस्तै समानुपातिकतर्फको दुई करोड आठ लाख ३० थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ।



