काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन साहको मण्डिखाटारस्थित घरमा चोरी भएको छ।
बालेन र उनकी श्रीमती घर बाहिर रहेको अवस्थामा घरमा चोरी भएको हो। बालेन केही दिनदेखि पश्चिम नेपालको राजनीतिक यात्रामा छन् भने उनकी श्रीमती झापामा चुनावी अभियानमा छिन्। उनीहरू बाहिर हुँदा बालेनका मामा ससुराका छोराले घरको हेरचाह गर्दै आएका थिए।
शुक्रबार साँझ बालेनको मामा ससुराका छोरा बालेनको घर पुग्दा घरको मुल ढोका फोरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले चोर समुह पर्खाल नाघेर घरभित्र प्रवेश गरेको हुनसक्ने बताएको छ। यस्तै घरमा राखिएका सिसिटिभी क्यामेरा र त्यसमा जोडिएका डिभाइसहरुसमेत चोरी भएको छ।
प्रहरीले घटनाको प्रकृति हेर्दा ब्यवसायीक समूहले घरमा चोरी गरेको हुनसक्ने अनुमान गरेको छ।
घटनाको अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गरिरहेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले विशेष टोली बनाएर घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए।
प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ। यस्तै प्रहरीले नजिकका अन्य सिसिटिभी फुटेज संकलनको कामसमेत गरिरहेको छ।



