काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको सिटी स्क्यान मेसिन खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले सिटी स्क्यान मेसिन खरिदमा रू ७ करोड ३१ लाख भ्रष्टाचार गरेको अभियोगसहित बिगो मागदाबी गर्दै बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन उपकूलपति भण्डारीसहित का.मु. रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी., बायोमेडिकल इन्जिनियर शरद भण्डारी, बायोमेडिकल इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, लेक्चरर डा. श्रीसिया पोखरेल, शाखा अधिकृतहरू झन्कार लामिछाने, लीला कुमारी देवकोटा, मेघबहादुर अधिकारी, आइटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्ण प्रसाद जोशी, स्टाफ नर्स बिन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्यूटर असिस्टेन्ट सतिशबहादुर शाह, हिमालयन मेडिटेक प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलाई प्रतिवादी बनाएको छ।



