काठमाडौं। उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धारको आवरणमा संगठित रूपमा नक्कली ‘फेक रेस्क्यू’ गरिँदै आएको खुलासासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पर्यटन व्यवसायी मुक्ति पाण्डेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले लामो समयदेखि चलिरहेको अनुसन्धानपछि विभिन्न ट्राभल, चार्टर तथा रेस्क्यू कम्पनीका सञ्चालकलाई नियन्त्रणमा लिई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका–६, अश्राङ घर भएका रास्वपा नेता मुक्ति पाण्डे, जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया र सुभाष केसी रहेका छन्। सिआइबीका अनुसार रिमाल र पाण्डे माउन्टेन रेस्क्यू सर्भिस प्रालि, अधिकारी र थपलिया नेपाल चार्टर सर्भिस प्रालि तथा पाण्डे र केसी एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिसँग आबद्ध थिए।
सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीले पक्राउ परेका सबै व्यक्तिमाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार फेक रेस्क्यू केवल बीमा ठगीको विषय नभई अन्तर्राष्ट्रिय बीमा प्रणाली, पर्यटन क्षेत्रको विश्वसनीयता र राष्ट्रकै छविसँग जोडिएको गम्भीर अपराध हो।
अनुसन्धानअनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले उद्धार देखाएका एक हजार २४८ घटनामध्ये १७१ वटा रेस्क्यू नक्कली रहेको खुलेको छ। ती घटनाका नाममा उक्त कम्पनीले १० करोड अमेरिकी डलरभन्दा बढी रकम बीमा दाबी गरेको पाइएको सिआइबीले जनाएको छ। उद्धार नै आवश्यक नपर्ने, सामान्य स्वास्थ्य समस्यालाई गम्भीर देखाउने वा उद्धार नगरिएको व्यक्तिलाई समेत हेलिकप्टर रेस्क्यू गरिएको देखाएर बीमा दाबी गरिएको अनुसन्धानमा देखिएको छ।
नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्धार गरेको देखाए पनि त्यसमध्ये ७५ जनाको रेस्क्यू नक्कली रहेको खुलेको छ। ती घटनाका आधारमा ८२ लाख अमेरिकी डलर बराबरको बीमा रकम दाबी गरिएको सिआइबीको भनाइ छ।
यसैगरी, एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनाको उद्धारमध्ये ७१ जनाको रेस्क्यू संकास्पद रहेको पाइएको छ। उक्त कम्पनीले ती घटनाका आधारमा ११ लाख ५३ हजार अमेरिकी डलर बराबरको बीमा दाबी गरेको देखिएको छ।
साढे दुई महिनाको अनुसन्धान, उजुरी अझै जारी
एआइजी केसीका अनुसार उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको नाममा गैरकानुनी कारोबार भइरहेको भन्ने उजुरी, बीमा कम्पनीबाट आएका विवरण तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा सिआइबीले साढे दुई महिनाअघि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान क्रममा फेक रेस्क्यू योजनाबद्ध र संगठित रूपमा भइरहेको, विभिन्न कम्पनीबीच समन्वय रहेको तथा अन्तर्राष्ट्रिय बीमा दाबी प्रणालीलाई दुरुपयोग गरिएको पाइएको उनले बताए।
उनका अनुसार फेक रेस्क्यू सम्बन्धी उजुरी अझै आइरहेकाले अनुसन्धान थप विस्तार गरिनेछ। आवश्यक परे थप व्यक्ति र कम्पनी पनि अनुसन्धानको दायरामा आउने सिआइबीको संकेत छ।
पक्राउ परेका मुक्ति पाण्डे रास्वपा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का प्रचार संयोजकसमेत हुन्। सोही क्षेत्रमा रास्वपाबाट सुदन गुरुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। चुनावी अभियान चलिरहेका बेला उम्मेदवारका प्रमुख प्रचार संयोजक नै गम्भीर आर्थिक तथा आपराधिक अभियोगमा पक्राउ परेका छन्। यसअघि एमाले र माओजवादीमा समेत सक्रिय पाण्डे केही समय यता मात्रै रास्वपा पार्टीमा आवद्ध हुँदै चुवावी कमानण्डर बनेका थिए।
फेक रेस्क्यू काण्ड सार्वजनिक भएपछि नेपालका हिमाली पर्यटन, हेलिकप्टर उद्धार प्रणाली र अन्तर्राष्ट्रिय बीमा कम्पनीसँगको विश्वाससम्बन्धमाथि गम्भीर प्रश्न उठेको छ। पर्यटन व्यवसायमा संलग्न सीमित समूहले आर्थिक लाभका लागि प्रणालीकै दुरुपयोग गर्दा समग्र पर्यटन उद्योग बदनाम हुने जोखिम रहेको विज्ञहरूले बताउँदै आएका छन्।
सिआइबीले भने दोषी देखिने जो-कोहीलाई राजनीतिक, आर्थिक वा अन्य प्रभाव नहेरी कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।





