काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनक लागि उम्मेदवार बनेक मध्ये पाँच जनाकाबिरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
आयोगका अनुसार निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत पाँच जना उम्मेदवार विरुद्धको उजुरी दर्ता भएको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार भक्तपुर-२ मा दुई वटा र सुनसरी-२, रौतहट-१ र कैलाली-१ मा एक एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका छन्।
उनले निर्वाचन कार्यतालिका अनुसार बिहीबार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिए।
‘सुनसरी जिल्ला क्षेत्र नम्बर २, भक्तपुर जिल्ला क्षेत्र नम्बर २ दुई वटा र रौतहट जिल्ला क्षेत्र नम्बर १ र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक, एक गरी जम्मा ५ वटा उजुरी परेको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ।’
उनले माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने पनि जानकारी दिए।
सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यक्रम छ।



