काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न मुख्य पाँच राजनीतिक दलहरूलाई समय निर्धारण गरिदिएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभाका लागि आज मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। देशका १६५ वटै निर्वाचन क्षेत्रका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो।
आयोगले सबैभन्दा सुरूमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय दिएको छ भने नेपाली कांग्रेसलाई अन्तिमको स्लट दिएको छ। सबै भन्दा पहिले दिउँसो १ बजे रास्वपालाई समय दिइएको हो।
आयोगले रास्वपाका उम्मेदवारका लागि १ बजे, राप्रपाका उम्मेदवारलाई २ बजे, एमालेका उम्मेदवारलाई साढे २ बजे, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई ३ बजे र सबैभन्दा अन्तिममा नेपाली कांग्रेसका उम्मेदवारहरुका लागि ४ बजे उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिदिएको हो।
मनोनयन दर्ताका लागि कर्मचारी र उम्मेदवारहरुलाई सहज होस् भनेर आयोगले मुख्य दलहरुलाई फरक-फरक समय छुट्याइदिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। अन्य दलहरूका लागि भने समय तोकिएको छैन। उनीहरू उपयुक्त समयमा आयोगमा उम्मेदवारी दिन जान सक्ने छन्।
आयोगले निर्धारण गरेको समयलाई आधार मानेर राजनीतिक दलका उम्मेदवारहरु उम्मेदवारको मनोनयन दर्ता गर्न आयोगका सम्बन्धित कार्यालयमा जानू पर्नेछ।



