काठमाडौं। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि बसेको आधिकारिक नेपाली कांग्रेसको बैठकले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तयार गर्ने निर्णय गरेको छ।
बानेश्वरको अर्पण ब्याङ्क्वेटमा सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको बैठकले देशका १६५ वटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तयार गर्ने निर्णय गरेको हो।
कांग्रेस सहमहामन्त्री बहादुरसिंह लामाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तयार गर्ने निर्णय भएको जानकारी दिए।
`बैठकले सबैलाई समेटेर एक ढिक्का भएर अघि बढ्ने, १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तयार गर्ने र जेनजीको आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा साकार पार्न केन्द्रित हुने निर्णय गरेको छ।´ सहमहामन्त्री लामाले एक्सरे नेपालसँग भने।
यसैगरी बैठकले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय पनि गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा चालिसेले कांग्रेसले पहिलो केन्द्रीय समिति बैठकमार्फत आगामी निर्वाचनमा कुनै पनि दलसँग अप्राकृतिक गठबन्धन नगर्ने सङ्कल्प गरेको जानकारी दिएका हुन्।



