काठमाडौँ। नेपाली कांग्रेसको विवाद बारे निर्णय गर्न अहिले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहितको बैठक बसिरहेको छ।
आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा अहिले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिवसहित कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीहरुको संयुक्त बैठक बसिरहेको आयोग स्रोत बताउँछ। आजै आयोगले कांग्रेस विवादबारे निर्णय लिने स्रोतको दाबी छ।
आयोगमा कांग्रेसको शेरबहादुर देउवा सभापति रहेको पक्ष र गगन कुमार थापा सभापति रहेको पक्ष आधिकारिकता दाबी गर्दै धाइरहेका छन्। दुवै पक्ष एक अर्काको दाबी गलत भन्दै आफ्नो पक्षबाट आयोगमा धारणा राख्दै आइरहेका छन्।
निर्वाचन आयोगको निर्णयको पर्खाइमा कांग्रेसका दुवै पक्षका नेता, कार्यकर्ता आयोगको कार्यालय अगाडि सडकमा धर्नामा बसेका छन्।



