काठमाडौं। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेस आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगेको छ।
आज दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका नेताहरु आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगेका हुन्। अहिले पनि यो समूहले आयोग पदाधिकारीसँग छलफल गरिरहेको छ। यस्तै बाहिर गेटमा यो समुहका नेता कर्याकर्ता धर्नामा समेत बसेका छन्।
आजै बिहान कांग्रेस सभापति शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले आफूहरु आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए।
आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो। हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो।
थापा समूहले बिहीवार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो।



