काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग वार्ता थालेका छन्।
विशेष महाधिवेशनले जुनसुकै हालतमा नेतृत्व परिवर्तन गरेरै छाड्ने रणनीति बनाएपछि देउवाले महामन्त्री थापा र शर्मालाई बोलाएर वार्ता थालेका हुन्। केहीबेर अघि सुरु वार्ता देउवाको निवास महाराजगञ्जमा जारी छ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि कुनै निष्कर्षमा भने पुगेको छैन। बहुमत महाधिवेशन प्रतिनिधि सभापति देउवाको विकल्पबाट पछि नहटेपछि विशेष महाधिवेशन स्थलमा निर्वाचनको कार्यक्रम समेत अघि बढिसकेको छ।
निर्वाचन कार्यक्रम नै अगाडी बढेपछि देउवाले महामन्त्रीद्वयलाई वार्तामा डाकेका हुन्। देउवाले यस अघि आफू निकटका नेताहरूलाई वार्तामा अघि सारेका थिए। तर सहमति हुन नसकेपछि उनी आफै अघि सरेका हुन्।
देउवा निवासमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का, बालकृष्ण खाण, दीपक खड्का, रमेश लेखक, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल पनि पुगेका छन्।
विशेष महाधिवेशन पक्षधरले संस्थापनसँग यो नै अन्तिम वार्ता हुने बताउँदै आएका छन्। महामन्त्रीद्वय र देउवाबिच सहमति नभए निर्वाचन प्रक्रिया अगाडि बढ्ने विशेष महाधिवेशनको नेतृत्व गरिरहेका नेता गुरु घिमिरेले जानकारी दिए।
‘हामीले महाधिवेशनको समय लब्याएर विभिन्न चरणमा वार्ता गर्यौं। तर वार्ता निष्कर्ष बिहीन छ। पटकपटक सहमति हुन्छ कि भनेर हामीले महाधिवेशनका प्रक्रिया अगाडि बढाउन ढिलाई गरेका छौं। अहिले पनि अन्तिम प्रयासस्वरुप महामन्त्री र सभापतिबीचको छलफलपश्चात सहमति भए एकता हुन्छ। नत्र अब निर्वाचन प्रक्रिया र नयाँ नेतृत्व चयनलाई रोक्न सकिने अवस्था छैन।’
सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने भएको छ। तर सभापतिको राजिनामा भने सहमति जुटेको छैन।



