काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौंमा फरकफरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ।
महाधिवेशन आयोजना स्थल भृकुटीमण्डपमा शनिबार दिउसो आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो। महाधिवेशनका लागि गठन गरिएको आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौंका सुनधारा, ठमेल, एयरपोर्ट, सिनामंगल र गौशाला क्षेत्रका विभिन्न होटल बुक गरिएको छ।
सुनधारा, ठमेल र एयरपोर्ट सिनामंगल गौशाला क्षेत्रमा एक–एक हजार प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको तथा थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रवन्ध मिलाइएको धमलाले जानकारी दिए।
विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि होटलमा बसोवासको व्यवस्थापनका लागि प्रदेश विभाजन गरेर होटल समन्वयको जिम्मा दिइएको छ ।
यसैगरी विदेशबाट आउने प्रतिनिधिहरुका लागि ठमेलस्थित इन्काउन्टर होटलमा बसोबासको व्यवस्था गरिएको छ भने अपांगता भएका व्यक्तिहरुका लागि बागबजारमा रहेको एक होटलमा व्यवस्थापन गरिएको छ ।
यसैगरी महाधिवेशन प्रतिनिधिहरुका लागि पुस २७ गतेका लागि बेलुकी सादा खानाको व्यवस्थापन गरिएको छ । २७ गतेको खाना भृकुटीमण्डपमा हल भित्रै हुनेछ । यसैगरी पुस २८ गते विहान ब्रेकफास्ट, दिउसो मटन खानाको व्यवस्थापन गरिएको तथा बेलुकी चिकेन खानाको व्यवस्थापन गरिएको संयोजक धमलाले जानकारी दिए।
महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले एक हजार रुपैयाँ शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने छन्।



