काठमाडौँ। वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ।
उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको निधन भएको हो। उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ।
वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिएका दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र संघर्षका प्रतीकका रूपमा परिचित थिए।
पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत अन्यायका विरुद्ध सत्यको पक्षमा कलम चलाउँदै उनले जनताको आवाज बुलन्द पार्न महत्त्वपूर्ण योगदान दिए।
स्वर्गीय जीवनाथ दाहाल र नीलकुमारी दाहालका सुपुत्र दाहालले एम.ए. (नेपाली) सम्मको उच्च शिक्षा हासिल गरेका थिए। साहित्यिक चेतनाले ओतप्रोत उनको पत्रकारिता यात्रा विचार, सिद्धान्त र व्यवहारको सशक्त संयोजनका रूपमा स्थापित रह्यो। उनका श्रीमती सुधा दाहाल तथा छोरा सुधांशु दाहाल र हिमांशु दाहाल हुन्।
पञ्चायतकालमा “राष्ट्रपुकार साप्ताहिक” मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उनी पटक–पटक पक्राउ पर्नुका साथै करिब तीन वर्ष जेल जीवन बिताएका थिए।
राजनीतिक क्षेत्रमा पनि उनी सक्रिय थिए। वि.सं. २०६१ मा कृषि तथा सहकारी मन्त्रीका रूपमा कार्यभार सम्हालेका उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजकका रूपमा पार्टीको विचारधारालाई प्रवर्धन गर्न सक्रिय रहेका थिए। साथै, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रतिनिधि सभा राज्य व्यवस्था समितिमा निर्वाह गरेको उनको भूमिका उल्लेखनीय मानिन्छ ।
पत्रकारिता यात्रामा “नयाँ सन्देश साप्ताहिक”का सहायक सम्पादकदेखि “राष्ट्रपुकार साप्ताहिक”का सम्पादक तथा प्रकाशकसम्म भएका दाहाल नेपाल पत्रकार महासंघका सभापति (वि.सं. २०४९–२०५१) का रूपमा पत्रकारहरूको हक, हित र अधिकारका लागि अग्रणी भूमिका खेलेका थिए। प्रेस काउन्सिल नेपालका सदस्यका रूपमा पनि उनले प्रेसको मर्यादा र नीतिगत सुधारमा योगदान दिए।
साहित्य, राजनीति र समाजका विविध विषयमा उनका लेख–रचनाहरू प्रकाशित छन्। त्रिभुवन विश्वविद्यालयका सभासद्, राष्ट्रिय विकास परिषद् तथा नेपाल अन्धा कल्याण संघका केन्द्रीय सदस्यका रूपमा पनि उनको योगदान स्मरणीय छ।
वरिष्ठ पत्रकार दाहालको निधनसँगै नेपाली पत्रकारिता, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।



