ललितपुर। गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै पनि दलप्रति ढल्कने छुट नभएको बताएका छन्।
आज शुक्रबार ललितपुरमा आयोजना भईरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सो कुरा बताएका हुन्।
गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भईरहेको प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमको उद्घाटन शत्रमा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोश्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त म्यान्डेट गरी मुख्य रुपमा दुई वटा म्यान्डेट रहेको बताए।
पहिलो म्यान्डेट सम्बन्धमा सरकार निर्वाचनमा होमीईसकेकोले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न उनले सम्बन्धीत सबैपक्षलाई आग्रह गरे। त्यस्तै दोश्रो म्यान्डेटको सम्बन्धमा जेनजी जन आन्दोलन सुशासन कायमको लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कतिवद्ध भएको उनको भनाइ थियो।
तोकिएको मितिमा निर्वाचन नभएमा देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी मनोबल बढाईदिन पनि सम्बन्धित सबैपक्षलाई आग्रह गरे।



