काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको माहोल बनेसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन नै स्थगित हुन पुगेको छ।
विधानअनुसार कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि यसको माहोल ह्वात्तै बढेको छ।
त्यही महाधिवेशन रोक्न विधान विपरीत अगाडि बढिरहेको संस्थापनले विभिन्न श्रृंखला चलाइरहेका बेलामा कार्यवाहक सभापति खड्काले आजको पत्रकार सम्मेलन डाकेका थिए ।
तर समयको माग विपरीत चलिरहेका खड्का पछाडि हट्न बाध्य भएका हुन्। स्रोतका अनुसार उनको पत्रकार सम्मेलनमा आउने वाचा गरेका डा शेखर कोइराला उपस्थित नहुने भएसँगै खड्काको पत्रकार सम्मेलन स्थगित भएको हो।
यही पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदैछ। त्यसका लागि महाधिवेशन प्रतिनिधिहरु काठमाडौँ आइरहेका छन्।
गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए।



