काठमाडौं। सोलार व्यवसायीको छाता संस्था नेपाल सौर्य विद्युत उत्पादक संघको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
संघको निर्वाचनबाट भरत कुमार मल्ल अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा मल्ल र हरिनारायण गौतमबीच प्रतिस्पर्धा भएको थियो।
संघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा दीपक गौतम , प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले , द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ , महासचिवमा नेत्र बहादुर खत्री, कोषाध्यक्षमा राम प्रसाद कोइराला , सचिवमा केशव राज शर्मा चयन भएका छन् त्यसैगरी, संघको सदस्यहरुमा राजेन्द्र बहादुर खड्का , निस्था गौतम , विश्व शाह ,कृष्ण राज चुदाली ,योगेन्द्र बहादुर श्रेष्ठ ,दिपक राज पौडेल , तिलकलाल श्रेष्ठ , कुमार वस्नेत र सुवोध रिमाल रहेका छन्।
नेपालमा सौर्य उर्जाको विकास, प्रवद्र्धन र रुपान्तरणसहित दिगो र हरित विकासमा योगदान गर्दै आएको सौर्य विद्युत उत्पादक संघले यसै वर्ष आफ्नो २५औं वार्षिकोत्सब (रजत जयन्ती) मनाएको हो।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न २५औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट आगामी दुई वर्षको कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो।
सो अवसरमा संघले आफ्नो पच्चीस वर्षको समीक्षा सहित सौर्य उर्जा क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको अनुभव तथा विचारलाई सरोकारवाला समक्ष पुर्याउन “उज्यालो नेपाल” स्मारिका समेत प्रकाशन गरेको छ।
संघले बदलिँदो समयअनुसार छाता संगठनको अवधारणामा आधारित सामूहिक कम्पनी स्थापना गरी सौर्य ऊर्जाका ठूला परियोजना सञ्चालन गर्ने तयारी पनि अघि बढाउने जनाएको छ।
आर्थिक वर्ष २०८२।८३ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत कार्यान्वयन हुने कार्यक्रम घट्दै गएको सन्दर्भमा संघको पहलमा सौर्य ऊर्जासम्बन्धी कार्यक्रमका लागि बजेट थप गराउन प्रयास गरेकोे जनाएको छ।
यस वर्ष मिनिग्रिड, सौर्य बत्ती, सौर्य पम्प, सौर्य खानेपानी, संस्थागत तथा रूफटप सोलार प्रणाली जडानलगायत कार्यक्रमका लागि आवश्यक बजेट निकासा र पूर्ण कार्यान्वयनमा जोड दिइने संघले जनाएको छ।
यस्तै देशका दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तार, कृषि उत्पादन वृद्धि र डिजेल पम्प विस्थापनका लागि सौर्य सिँचाइ प्रवर्द्धन गर्न विशेष पहल गरिनेछ । संघले नवीकरणीय ऊर्जाको २५ वर्षे अनुभवलाई उपयोग गर्दै सरकार, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य बढाउने जनाएको छ।



