काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले प्रतिनिधिहरूको सुविधा सुनिश्चित गर्न काठमाडौंका विभिन्न होटेलमा १५ सय रुम बुक गरेको छ।
ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा प्रतिनिधिहरूको आवास तथा खानपानको व्यवस्था गरिएको हो।
आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले महाधिवेशनमा आउने प्रतिनिधिका लागि होटल बुक गरिएको जानकारी दिए।
“आ–आफ्नो निर्वाचन क्षेत्रका प्रतिनिधिहरूलाई समन्वय गरेर होटेलमा बस्ने व्यवस्था मिलाइएको छ। महिला, ज्येष्ठ नागरिक र अपांगता भएका प्रतिनिधिहरूका लागि विशेष व्यवस्था गरिएको छ।” धमलाले भने।
उनले थपे, प्रत्येक निर्वाचन क्षेत्रको लागि ‘पोलिटिकल फोकल पर्सन’ तोकिने र काठमाडौंमा घर भएका वा आफन्तको घरमा बस्ने प्रतिनिधिहरूलाई त्यसरी व्यवस्थापन गर्न अनुरोध गरिनेछ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरिने घोषणा गर्दै प्रतिनिधिहरूलाई सक्रिय उपस्थितिका लागि आग्रह गरेका छन्।
तर, पार्टीका संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको र यसले आवश्यक नभएको तर्क गर्दै आएका छन्।
विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएकाले प्रतिनिधिहरूको सुव्यवस्थित आवास र सहभागी व्यवस्थापनमा आयोजक समूह सक्रिय देखिएको छ।



