काठमाडौं। आगामी फागुन २१ गते हुने तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख ३४ हजार निर्वाचन प्रहरी (म्यादी) को भर्ना खुला भएको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।
भर्ना हुन इच्छुकले पुस २५ देखि माघ १ गतेसम्म सबै जिल्लाका प्रहरी कार्यालयमा स्वयम् उपस्थित भई आवेदन फारम बुझाउनु पर्नेछ। उम्मेद्वारकाे उमेरहद १८ देखि ५४ बर्षसम्म राखिएकाे छ।
के कस्ताे हुन्छ तलब सुविधा?
निर्वाचन प्रहरीको सेवा अवधि ४० दिनकाे हुनेछ।निर्वाचनकाे अवधिमा याे समय हेरफेर समेत हुनसक्ने नेपाल प्रहरीले जनाएको छ।
उनीहरुले नेपाल प्रहरी जवानकाे सुरुकाे तलब स्केल सरह दैनिक ८६९ रुपैयाँका दरले तलब पाउनेछन्। यस्तै ४० दिनकाे खाद्यान्न वापतकाे रकम सरकारले बैँक खातामा उपलब्ध गराउनेछ।
यसैगरी निर्वाचनका ४ दिनकाे खाजा खर्च र खटाइएको स्थानमा जाँदाकाे यातायात खर्च पनि प्रदान गरिनेछ। साे अवधिमा प्रहरीकै दररेट अनुसारकाे पाेशाक वापतकाे रकम पनि उपलब्ध गराइनेछ।
तर भर्ना भएर करार अवधि पुरा नभइ सेवा छाेड्ने प्रहरीलाई भने कुनै सेवा सुविधा दिइने छैन। उपयुक्त कारण देखाई सेवा छाेड्नु परेकाहरुले भने सेवाकाे २० दिन पूरा भएको भए दिनगन्ती तलब सुविधा पाउनेछन्।




