काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पूर्वउपसभापति विमलेन्द्र निधिमाथि पार्टी कार्यालय बाहिर भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले नेता निधिमाथि भएको व्यवहार प्रजातान्त्रिक मूल्य–मान्यता विपरीत भएको बताएका हुन्।
थापाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माले सो विषयमा व्यक्त गरेको मतसँग आफू पूर्ण सहमत रहेको उल्लेख गर्दै असल प्रजातन्त्रवादीले फरक विचार र मतको सम्मान गर्नुपर्नेमा जोड दिएक छन्।
‘असल प्रजातन्त्रवादीले ‘सत्यको अनेकता’ मा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ।’ थापाले लेखेका छन्,‘म समग्र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवर्तन चाहन्छौँ तर विधि, विधान र प्रक्रियाभन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ।’
मंगलबार केन्द्रीय सम्पादन समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका निधिमाथि दुर्व्यवहार भएको थियो। निधिले सो घटनामा विशेष महाधिवेशन पक्षधरबाट नभएको र घुसपैठ भएको बताएका छन्।



