पर्सा। बिरगंजमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ।
जनकपुरमा आइतबार मस्जिदमा आक्रमण भएपछि बिरगंजमा प्रदर्शनकारीले विरोध गर्दै प्रदर्शन गरिरहेका छन्। स्थानीय प्रशासनले अवस्थालाई सामान्य बनाउन भन्दै बिरगंजमा कर्फ्यु आदेश जारी गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै बिरगंज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु लागु गरिएको बताएका छन्।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार (भोली) बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।
कर्फ्यु आदेश पूर्वमा बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावरहाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म लागू हुने जारी सूचनामा उल्लेख छ।
बिरगंजमा अवस्था नियन्त्रणबाहिर जान सक्ने देखिएपछि शान्ति सुरक्षा कायम गर्न भन्दै प्रशासनले यो कदम चालिएको जनाएको छ।
कर्फ्युको समयमा सर्वसाधारणलाई घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले सूचनाको उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।
प्रदर्शनकारीले निषेधाज्ञा तोडेर प्रदर्शन जारी राखेपछि प्रहरीले केहीलाई नियन्त्रणमासमेत लिएको छ।




