काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न नसक्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
कसैले भन्दैमा विशेष महाधिवेशनको औचित्य नसिद्धिने भन्दै उनले जबरजस्ती गरे भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुने बताए ।
पार्टीभित्र विधिविहीनता र बेथितिले चरम रूप लिएको उनको भनाइ छ ।
विशेष महाधिवेशनका मागकर्ता पार्टी सदस्यहरू माथि गरिएको बेवास्ता, चरम दुर्व्यवहार र पार्टी विधानको खुला उपहास तथा उल्लंघन भएको उनले बताए ।
महाधिवेशनको कागजी तालिका न्यूनतम रूपमा लागु समेत नगर्ने र स्वेच्छाचारी रूपमा बदल्दा वा समय सार्दा समेत पार्टी सदस्यहरूलाई सामान्य रूपमा अग्रिम सूचनासम्म नदिने प्रवृत्ति सर्वाधिक अलोकतान्त्रिक मात्र होइन,तानाशाहीपूर्ण र भर्त्सनायोग्य भएको उनको भनाइ छ ।
उनले लेखेका छन्, 'नेपाली कांग्रेसले ७५ वर्ष अघि हुकुमी शासनको अन्त्य गरेको थियो ।अहिले कांग्रेसभित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको छ । नेता सरह वा त्यसभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरूलाई रैती, पार्टीलाई नीजि जमिन्दारी र घरेलु मामिला ठान्ने प्रवृति सर्वथा निन्दनीय छ ।'
वर्तमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीलाई एकढिक्का बनाउँदै अघि बढ्न विशेष महाधिवेशनको मागलाई सकारात्मक रूपमा सम्बोधन गरेर मात्र अघि बढ्न उनले नेतृत्वसँग आग्रह गरेका छन् ।



