बिरगंज। बिरगंजबाट चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो। गत आवको पाँच महिनामा भने रु २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान यो नाका हुँदै निर्यात भएको थियो।
बिरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको हो।
विष्टका अनुसार चालु आवको पाँच महिनामा रु २० अर्ब ७६ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित बिरगंज नाका हुँदै विदेश निर्यात भएको छ।
त्यस्तै रु तीन अर्ब सात करोड मूल्य पर्ने फलफूलको जुस यो नाका हुँदै निर्यात भएको छ।
भन्सार कार्यालयका अनुसार रु दुई अर्ब ८७ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, रु एक अर्ब ९७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ।
त्यस्तै रु एक अर्ब ५० करोड मूल्य पर्ने विभिन्न किसिमका कपडाहरु पनि निर्यात भएको कार्यालयले जनाएको छ।



