बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एकैपटक दुई सचिव पुगे आयल निगमको हवाइ इन्धन डिपो सर्ने ठाउँमा

एकैपटक दुई सचिव पुगे आयल निगमको हवाइ इन्धन डिपो सर्ने ठाउँमा

images
२०८२ पौष ४ गते, शुक्रवार
२०८२ पौष ४ गते, शुक्रवार
  • काठमाडौं। सरकारका दुई सचिव शुक्रबार एकसाथ नेपाल आयल निगमको सिनामंगलस्थित हवाइ डिपो स्थानान्तरण हुने भनिएको विमानस्थलको उत्तरी क्षेत्र गुहेश्वरीको निरिक्षणमा पुगे।

    images

    यो आयोजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र गुणस्तरीय फ्युलिङ सिस्टमका हिसाबले महत्त्वपूर्ण मानिएको छ।

    images

    तर आयोजनाको निर्माणको काम भने सुस्त तरिकाबाट अगाडी बढ्दै गर्दा वाणिज्य तथा आपूर्ति सचिव डा. राम प्रसाद घिमिरे र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मुकुन्द निरौला फिल्ड भिजिटमा नै पुगेका हुन्।

    दुई सचिवसँगै निगमका प्रबन्ध निर्देशक डा. चण्डिका प्रसाद भट्टसमेत निर्माण स्थल पुगेका थिए।

    निरीक्षणपछि दुबै सचिवले हाल भइरहेको कामप्रति चासो राख्दै निर्माणलाई तिव्रता दिन निर्देशन दिएका छन्। आयल निगमले गुहेश्वरीस्थित एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा नयाँ हवाइ इन्धन डिपो निर्माण गर्ने तयारीसहित काम गरिरहेको छ।

    सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले तयार गरिसकेको छ।

    निरीक्षणका क्रममा उद्योग मन्त्रालयका सहसचिव शिवराम पोख्रेलले डिपिआरअनुसार काम अघि बढाउन दुवै मन्त्रालयबाट आवश्यक सहजीकरण भइरहेको बताए।

    “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाका हिसब्बले समेत डिपो स्थानान्तरण अपरिहार्य छ, अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिपोलाई संचालन गर्नु पनि अबको आवश्यकता हो,” पोख्रेलले भने।

    उनले निर्माण प्रक्रिया छिटो अघि बढाउन सचिवस्तरबाट स्थल निरीक्षण गरिएको पनि स्पष्ट पारे।

    नागरिक उड्डयन प्राधिकरणले निगमलाई गुहेश्वरीमा नयाँ डिपोका लागि सय रोपनीभन्दा बढी जग्गा उपलब्ध गराइसकेको छ। निगमले जग्गा प्राप्त गरी सम्याउनेलगायत प्रारम्भिक कामसमेत सुरु गरिसकेको भए पनि लिज सम्झौतामा सहमति नजुट्दा निर्माण कार्यमा अलमल हुँदै आएको छ।

    पोख्रेलका अनुसार डिपो निर्माण अवधिभरको जग्गा भाडा छुट दिनुपर्ने निगमको मागमा पर्यटन मन्त्रालयले निर्णय गर्न नसक्दा समस्या उत्पन्न भएको हो।

    “सिनामंगल डिपोको भाडा तिरिरहेको अवस्थामा गुहेश्वरीमा पनि निर्माण सुरु भएदेखि नै भाडा तिर्नुपर्दा दोहोरो आर्थिक भार पर्छ,” उनले भने, “यस विषयमा सहजीकरणका लागि पर्यटन मन्त्रालयलाई आग्रह गरिएको छ। चाँडै निकास निस्कने अपेक्षा छ।”

    हाल पर्यटन तथा उद्योग दुवै मन्त्रालयको जिम्मेवारी मन्त्री अनिलकुमार सिन्हासँग रहेकाले भाडा छुटसम्बन्धी निर्णय सहज हुने आयल निगमका अधिकारीहरूको विश्वास छ।

    गुहेश्वरीस्थित हवाइ इन्धन डिपो परियोजनाका संयोजक तथा आयल निगमका उपनिर्देशक प्रदीप यादवले सचिवस्तरबाट स्पष्ट निर्देशन प्राप्त भइसकेकाले निर्माण कार्य छिट्टै सुरु गरिने बताए।

    २०८१ साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गुहेश्वरीमा नयाँ हवाइ इन्धन डिपो निर्माण गर्ने निर्णय गरेको थियो। त्यसपछि पुल्चोक इन्जिनियरिङ कलेजलाई डिपिआर तयार गर्ने जिम्मेवारी दिइएको थियो। 

    डिपिआरअनुसार नयाँ डिपो निर्माणमा ६ अर्ब ५४ करोड २९ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। निगमले आगामी ५० वर्षसम्मको हवाइ इन्धन माग धान्ने क्षमताको भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend