बैतडी। अझै पनि स्वास्थ्य उपचारका लागि शिविर नै कुर्नु पर्छ भन्दा अचम्म लाग्न सक्छ। तर बैतडी जिल्लाका ग्रामीण भेगका महिलाहरु अहिले पनि उपचारका लागि शिविरकै पर्खाइमा हुन्छन्। उनीहरू पाठेघर खसेको उपचार गर्न अझै शिविर नै पर्खिने गरेका छन्।
यस्तो अवस्था किन त? शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महता गाउँमा भरपर्दो उपचार सुविधा नहुनुलाई कारण मान्दछन।
`गाउँमा भरपर्दो उपचार सेवा अझै छैन, जिल्ला अपस्ताल टाढा छ र गाउँका स्थानीय चिकित्सकलाई रोग देखाउदा समाजले केही भन्छ कि भन्ने डरले रोग लुकाएर बस्ने समस्याले गर्दा ग्रामीण महिलाले शिविर पर्खिने गरेका छन्।´ महताले भने।
`अहिले शिवनाथ गाउँपालिकामा स्वास्थ्य शिविर जारी छ। स्वास्थ्य शिविरमा पाठेघर खस्ने समस्या लिएर आएका महिलाले बर्सौंदेखि रोग लुकाएर बसेको पाइएको छ। यहाँका महिलाहरू शिविरबाहेक अन्य ठाउँमा उपचार गराउन जाँदैनन् भन्ने यसैले पुष्टि हुन्छ।´ महताले अगाडी थपे।
ग्रामीण क्षेत्रमा अहिले पनि बालविवाह रोकिएको छैन। उमेरै नपुगी आमा हुने महिलाहरू छन्। यस्तै यहाँ गर्भवतीले आराम नपाउने समस्या रहेको छ। २० वर्ष उमेर नपुग्दै विवाह गर्ने चलन कायमै रहेकाले अभिभावक सचेत बन्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन्।
शिवनाथ गाउँपालिकामा जारी रहेको स्वास्थ्य शिविरमा १२० महिलाको भिडियो एक्सरे र ३२ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ।
परीक्षणका क्रममा क्यान्सर देखिएकी एक महिलालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने चार जनाको पाठेघरमा रिङ पेसरी राखिएको छ।
शनिबार जिल्ला अस्पताल बैतडीले शिवनाथ गाउँपालिका–२ को शर्मालीमा विशेषज्ञ चिकित्सक लगेर एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।शिविरमा एकै वडाका ३३१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए।
शिवनाथ गाउँपालिका र जिल्ला अस्पताल बैतडीको संयुक्त आयोजना र जिल्लास्थित सुरक्षा निकायको सहआयोजनामा नागार्जुन मावि शर्मालीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुशील विकले जानकारी दिइन्।
शिविर सञ्चालन गर्न जिल्ला अस्पतालमा कुनै बजेट र कार्यक्रम नभएकाले गाउँपालिकाको अनुरोधमा विशेषज्ञ चिकित्सक गाउँमा खटिएको जिल्ला अपस्ताल बैतडीका व्यवस्थापक सुमन महराले बताए।
जिल्ला अस्पतालबाट सञ्चालन हुने कार्यक्रम बन्द हुँदा विशेषज्ञ स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता भएकाले गाउँपालिकाको अगुवाइमा शिविर आयोजना गरिएको हो। सो शिविर गाउँपालिकाका छ वटै वडामा संचालन हुने गाउँपालिकाले जनाएको छ।



